बैशाख १९ , काठमाडौं । नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दर्ज्यानी चिन्ह लगाएका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनरायण पाण्डेले नवनियुक्त आईजीपीहरुलाई फुली लगाएका हुन् ।
सरकारले आईतवार सिंहलाई महानिरीक्षकमा बढुवा गरेको थियो। तर वरियताका क्रममा आफू भन्दा कनिष्ठ रहेका सिंहलाई सरकारले महानिरीक्षक बनाएको भन्दै एआईजीद्वय विश्वराज पोखरेल र सहकुल थापा असन्तुष्ट छन्।
प्रहरीमा आइजिपीका चार जना दाबेदार थिए। विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रवीन्द्र धानुक आइजिपीका दाबेदार थिए।
२०७७ मंसिरमा विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका थिए। उनीपछि गत वर्ष असारमा सहकुल थापा एआइजीमा बढुवा भएका थिए। त्यस्तै गत चैतमा धिरजप्रताप सिंह र रवीन्द्र धानुक बढुवा भएका थिए।
सिंह २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका थिए । अर्याल २०५४ चैतमा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएर सशस्त्र प्रहरीमा प्रवेश गरेका हुन् । आईजीपीको रूपमा अर्यालको कार्यकाल ४ वर्षको हुनेछ ।


