बैशाख २५ ,पोखरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थायित्व र स्थिरताको लागि गठबन्धन आवश्यक रहेको बताएका छन् ।प्रधानमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले सभालाई सम्बोधन गर्दै गठबन्धनले सबैभन्दा बढी फाइदा नेपाली काँग्रेसलाई पुग्ने बताएका छन् ।
गठबन्धन दलले पोखरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले संविधान जोगाउनको लागि बनेको गठबन्धनबाट सबै दललाई फाइदा भएको र काँग्रेसलाई झन् धेरै फाइदा भएको जिकिर गरे ।देशभरको महानगरमा गठबन्धनको तर्फबाट धेरै मेयर र उपमेयर पदको उम्मेदवार काँग्रेसको भएको जिकिर गर्दै उनले गठबन्धनको पक्षमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । गठबन्धनको उम्मेदवारले जित्दा काँग्रेसको र देशको जित हुने उनको दाबी थियो ।
यस्तै उनले कांग्रेसका लागि गठबन्धन सबैभन्दा बढी आवश्यक भएकोले गठबन्धनलाई जोगाउन पनि सबै उम्मेदवारलाई जिताउन आह्वान गरे । गठबन्धन राष्ट्रिय र ऐतिहासिक आवश्यकता भएको भन्दै उनले गठबन्धनलाई कुनै किसिमको शंका, उपशंका गर्ने काम नगर्न कांग्रेस कार्यकर्तालाई आग्रह गरेका थिए ।


