काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले पहिलो जित दर्ता गरेको छ । शनिबार भएको खेलमा विराटनगरले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको हो ।
वर्षाका कारण पाँच ओभरमा छोट्याइएको खेलमा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित पाँच ओभरमा तीन विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो ।
यससँगै तीन खेल खेलेको सुदूरपश्चिमले दोस्रो हार बेहोरेको छ । यसअघि पहिलो खेलमा लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो ।
यता, विराटनगरले भने यसअघिका दुवै खेलमा हार बेहोरेको थियो । पहिलो खेलमा चितवन राइनोजसँग आठ रन र दोस्रो खेलमा कर्णाली याक्ससँग चार विकेटले पराजित भएको विराटनगरले तेस्रो खेलमा जित निकाल्दै हारको शृंखला तोडेको छ ।
१०६ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले पहिलो बलमै शर्फेन रदरफोर्डको विकेट गुमाएको थियो । उनी आन्द्रे रसेलको बलमा खाता नखोल्दै आउट भए । कप्तान दीपेन्द्रसिंह ऐरीले पनि पाँच बलमा एक रन मात्रै बनाउन सके । उनलाई एन्जेलो म्याथ्युजको बलमा रुपेश सिंहले क्याच आउट गराए ।
सैफ जैबले १७ तथा आरिफ शेखले अविजित १७ रन बनाए । अन्तिमतिर स्कट कुगेलेइनले आक्रामक ब्याटिङ गर्दै ६ बलमा एक चौका र चार छक्कासहित अविजित २८ रन जोडे । तर, उनको आक्रामक इनिङ्सले पनि टोलीलाई जित दिलाउन सकेन ।
विराटनगरका आन्द्रे रसेल, रुपेश सिंह र एन्जेलो म्याथ्युजले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर सुदूरपश्चिमले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित पाँच ओभरमा दुई विकेट गुमाएर १०५ रन बनाएको थियो ।
विराटनगरका शेहान जयसूर्याले सर्वाधिक ३९ रन बनाए । उनले ११ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे । त्यस्तै, लोकेश बमले १० बलमा एक चौका र तीन छक्कासहित २५ रन जोडे ।
आन्द्रे रसेलले पनि आक्रामक ब्याटिङ गर्दै १० बलमा दुई चौका र तीन छक्काको मद्दतमा अविजित २९ रन बनाए ।
जयसूर्या र लोकेश बमले पहिलो विकेटका लागि २.४ ओभरमा ६८ रनको साझेदारी गर्दै टोलीलाई बलियो सुरुवात दिलाएका थिए । सुदूरपश्चिमका अविनाश बोहराले दुई ओभरमा २८ रन खर्चेर दुई विकेट लिए ।
विराटनगरले यस जितसँगै जारी एनपीएलमा आफ्नो जितको खाता खोलेको छ ।


