काठमाडौँ, कात्तिक १५ गते । नेपालमा तीन दिनअघिदेखि सुरु भएको अर्णव चक्रवातको असर शनिबार अपराह्नदेखि अन्त्य भएको छ । भारी हिमपात र वर्षा गराएको चक्रवातको असर बाहिरिएसँगै मौसम खुलेको छ । नेपाल मौसम विज्ञान विभागका अनुसार चक्रवातपछि बनेको न्यूनचापीय मौसमी प्रणाली नेपालको पश्चिमबाट सर्दै पूर्वी नेपालबाट बाहिरिएको हो ।
उक्त प्रणालीको असरले उच्च हिमाली भेगमा भारी हिमपात र पहाडका विभिन्न भूभागमा भारी वर्षा गराएको छ । वर्षा र हिमपातका कारण हिमाल, पहाड र तराई भेगको जनजीवन शुक्रबार र शनिबार दिउँसोसम्म उच्च रूपमा प्रभावित बन्यो ।
हिमाली भेगमा भएको हिमपातका कारण घर तथा बस्ती वरिपरि ठुलो मात्रामा हिउँ जम्मा हुँदा आवतजावतमा समस्या परेको थियो । साँझसम्म पनि स्थानीयहरू घर तथा बाटो आसपासका हिउँ हटाउन व्यस्त थिए । हिमपातका कारण यात्रासमेत अवरुद्ध बनेको थियो । विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भए पनि साँझसम्ममा सडक सञ्चालनमा ल्याइएको छ । वर्षाले प्रभावित जनजीवन विस्तारै सहज बन्दै गएको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । अबका दिन मौसम सफा रहने उहाँले बताउनुभयो । आकाश खुलेसँगै मानिसहरू दैनिकीमा फर्कन थालेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी पर्शुराम पोख्रेलले जानकारी दिनुभयो ।
बढी वर्षा मनाङमा
मौसम पूर्वानुमान महाशाखाका अनुसार बितेको २४ घण्टामा सबैभन्दा बढी वर्षा गण्डकी प्रदेशमा रेकर्ड भएको छ । मनाङको ताल क्षेत्रमा १२४.२ मिलमिटर वर्षा भएको मौसमविद् निस्था निरौलाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विभिन्न प्रदेशका धेरै जिल्लामा ५० मिलिमिटरभन्दा बढीको भारी वर्षा भएको पाइएको छ ।” बाढी पूर्वानुमान महाशाखाका बाढीविद् विनोद पराजुलीका अनुसार शनिबार दिउँसोसम्म परेको वर्षाका कारण उपत्यकालगायतका स्थानीय खोलामा बहाब बढेको थियो । दिउँसोदेखि आकाश खुल्न थालेपछि बिस्तारै बहाब कम भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हिमाली भेगमा यस पटक हिमपात राम्रै भएको छ, सबैभन्दा बढी तिलिचो क्षेत्रमा भएको छ ।” तल्लो हिमाली भेगमा वर्षा राम्रो भएको जानकरी उहाँले दिनुभयो । ती क्षेत्रमा २९ देखि ४७ मिलमिटरसम्म वर्षा रेकर्ड भएको छ । सगरमाथा आधार शिविरसहित देशका प्रमुख हिमाली भेगमा तीन फिटसम्म हिमपात भएको छ । सबैभन्दा बढी तिलिचो क्षेत्रमा १.३५ मिटर हिउँ परेको छ ।
किसान चिन्तित
शुक्रबारदेखिको निरन्तरको वर्षाले धानका पाँजा भिजेपछि किसान चिन्तित बनेका छन् । पहाडी तथा तराईका केही भेगमा किसानले धान काटेर खेतबाट उठाउन नपाई वर्षा भएकाले पाँजा भिजेका छन् । मौसमविद् रामेश्वर रिमालका अनुसार पूर्र्वसूचनाको ख्याल नगर्दा धान डुबान र भिजेर समस्या खेप्नु परेको औँल्याउनुभयो । तथापि आइतबारदेखि आकाश खुल्ने भएकाले भिजेका धानमा उल्लेख्य क्षति नहुने उहाँको भनाइ छ । तराईमा अधिकांश ठाउँमा भने छठ पर्वपछि मात्र धान काटिने भएकाले समस्या छैन । डुबानमा परेका खेतका पानी पनि शनिबार साँझदेखि निकास भएकाले खतरा छैन ।


