काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकामा रहेका ५९ सामुदायिक विद्यालयमध्ये हाल ३३ वटा सञ्चालनमा छन् । पाँच वर्षको अवधिमा २० विद्यालय बन्द भएका हुन्भने त्यसअघि विभिन्न मितिमा स्थापित पाँच विद्यालय बन्द भएका हुन् ।
विद्यार्थीको अभावमा उक्त गाउँपालिका–७ स्थित विसं २०३२ मा स्थापित स्वस्थानी माध्यमिक विद्यालय २०८० साल साउन महिनाबाट बन्द भयो । गाउँपालिका कार्यालयले शिक्षक र विद्यार्थीको अनुपात नपुगेको भन्दै नजिकको सृजनशील माविमा विद्यार्थीलाई अध्ययन गराउने जनाउँदै स्वस्थानी मावि बन्द गर्ने निर्णय गरेको थियो । सो विद्यालयमा चालु शैक्षिक सत्रका लागि ३५ जना विद्यार्थी भर्ना भएका थिए ।
उक्त गाउँपालिकाको स्वस्थानी माविझैँ अन्य प्राथमिक र निम्न माध्यमिक गरी २४ विद्यालय बन्द भइसकेका छन् । गाउँपालिका कार्यालयले नै विद्यालयमा शिक्षक र विद्यार्थीको अनुपात नपुगेपछि निर्णय गरी विद्यालय बन्द गराइएको हो । नौवटा वडा अवस्थित गाउँपालिकाका १२ मावि तहका विद्यालयमध्ये हाल दश सञ्चालनमा छन् । गाउँपालिकाको मावि तहका स्वस्थानी र धुसेनी ग्राम विकास बन्द गरिएको हो ।
गाउँपालिकाका शिक्षा शाखाप्रमुख कालीप्रसाद पाण्डेका अनुसार गाउँपालिकामा प्राथमिक तहका १५ विद्यालय बन्द गरिएका छन् । विद्यालय र बन्द हुँदै जाने विद्यालयका शिक्षकको व्यवस्थापनमा चुनौति देखिएको छ ।


