पर्वत जिल्लाको जलजला गाउँपालिका–२ माझफाँटस्थित दहमा दम्पत्ति हत्या घटनाको प्रहरीले कुकुरसहितको विशेष टोलीबाट अनुसन्धान सुरु गरेको छ।
दम्पत्ति ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षेत्री र उनकी श्रीमती ६७ वर्षीया गमला घर्ती क्षेत्रीको हत्या भएपछि जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसालको नेतृत्वमा पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरिरहेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले बताएका छन्। शवको अवस्था हेर्दा हत्या नै भएको हुनसक्ने वडाध्यक्ष प्रकाश जिसीले बताएका छन्।
मृत दम्पत्तिका तीन छोरामध्ये दुई जना रोजगारीको लागि दक्षिण कोरियामा छन् भने एक जनाले म्याग्दी सदरमुकाम बेनी बजारमा व्यवसाय गरिरहेका छन्। दम्पत्ति भित्र मृत रहेको भए पनि ढोकाको बाहिरबाट ताला लगाइएको अवस्था रहेकोले कसैले लुटपाट गरेर हत्या गरेको र ताला लगाएर भागेको हुन सक्ने स्थानीयको अनुमान छ।


