दूरसञ्चार र सूचना प्रविधिको उपभोग बढ्दै जाँदा सोही अनुसार राज्यले डिजिटल पूर्वाधारमा समेत लगानी बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
प्रविधि पत्रकार मञ्चले मङ्गलबार राजधानीमा आयोजना गरेको कार्यक्रमका सहभागीले दूरसञ्चार बजार विस्तारका लागि पनि डिजिटल पूर्वाधारमा लगानी बढाउनुपर्ने धारणा राखेका हुन् । डिजिटल पूर्वाधारको अभावमा डिजिटल खाडल बढेको र त्यसले राज्यबाट प्रवाह गर्नुपर्ने सार्वजनिक सेवामा समेत असमानता देखिएको सहभागीको भनाइ छ ।
कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालले नेपाल दूरसञ्चार परिपक्व भइसकेकाले त्यसको नियमनका लागि पनि सोही अनुसारको कानुन आवश्यक पर्ने बताउनुभयो ।
दूरसञ्चार क्षेत्रमा अहिले चुनौतीपूर्ण अवस्थामा रहेकाले त्यसलाई सम्बोधन गर्ने किसिमको नीतिगत व्यवस्था हुनुपर्नेमा उहाँको जोड थियो । एनसेल एजियटाका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले दूरसञ्चार बजारमा देखिएका चुनौतीलाई अवसरमा बदल्न सबै सरोकारवालाको पहल आवश्यक पर्ने बताउनुभयो ।


