सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले प्रभावकारी रूपमा कानुन कार्यान्वयन हुन नसक्दा राजनीतिक व्यवस्था परिवर्तन भएपनि जनताको अवस्थामा परिवर्तन हुन नसकेको बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ दाङ शाखाको २२ औँ साधारण सभा तथा १२ औँ अधिवेशन एवम् मिडिया महोत्सवको सोमबार घोराहीमा उद्घाटन गर्दै मन्त्री शर्माले जनताको अवस्थामा परिवर्तन ल्याउनका लागि कानुन कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभएको हो । राजनीतिक स्थायित्व भएपनि राजनीतिक अभिभारा पूरा हुन नसकेकाले पुरा गर्नुपर्ने दायित्व अहिलेको नेतृत्वलाई रहेको बताउनुभयो ।
सूचना र प्रविधिको विकासले आम सञ्चारको क्षत्रमा आएको परिवर्तनलाई व्यवस्थित गर्न पुनर्संरचना गर्न जरुरी रहेको भन्दै मिडिया सम्मेलनबाट के कस्तो नीति बनाउन सकिन्छ भन्ने सुझावको आवश्यकता रहेको बताउनुभयो । सरकारले आम सञ्चारका माध्यमबाटलाई व्यवस्थित गर्नेगरी आम सञ्चार ऐनलाई अघि बढाएर अहिले अर्थबाट सहमति पाएर कानुन मन्त्रालयमा पुगेकाले यहाँबाट आउने सुझावले ऐन निर्माणमा सहयोग पुग्ने बताउनुभएको थियो ।
दुई दिनसम्म चल्ने मिडिया महोत्सवमा सङ्घीयता, विकास र मिडिया, मिडियामा समावेशी सवाल, हिजोको मिडिया र आजका मिडिया, कानुन निर्माण र मिडिया साक्षरता लगायतका विषयमा छलफल हुने भएको छ ।


