अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा खण्ड दुई दिनका लागि दिउँसोको समयमा बन्द गरिएको छ।
सडक स्तरोन्नति जारी रहेकाले आज र भोलि दिउँसो उक्त खण्डमा आवागमन बन्द गरिएको हो।
सडक डिभिजन कार्यालय भक्तपुरले शुक्रबार सूचना जारी गर्दै उक्त खण्ड भएर यात्रा गर्ने यात्रु र सवारीसाधनलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ।
संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं, सडक डिभिजन भक्तपुरले सार्वजनिक सूचना जारी गर्दै अरनिको राजमार्ग (धुलिखेल–जिरोकिलो–खावा खण्ड) भोलीसम्म दुई दिन दिउँसोको समयमा बन्द रहने जनाएको हो।
राजमार्गको धुलिखेल जिरोकिलो–खावा खण्डमा थप मर्मत तथा विस्तार गर्नका लागि जिल्ला समन्वय समिति, सरोकार भएका निकाय तथा स्थानीयकाबीच यही जेठ ७ गते उक्त खण्ड दुई दिनसम्म बन्द गर्ने निर्णय भएसँगै भोलीसम्म बन्द गरी स्तरोन्नति थालिएको सडक डिभिजन कार्यालय भक्तपुरका सूचना अधिकारी एवं इञ्जिनियर सुमन बस्नेतले जानकारी दिए।
बैठकको निर्णयअनुसार आज बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म र भोलि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म दमकल, एम्बुलेन्स, शववाहन र सुरक्षा निकायका सवारीसाधनबाहेक सबै किसिमका यातायात सञ्चालन पूर्णरुपमा बन्द रहने उनले जानकारी दिए।
बन्द अवधिभर वैकल्पिक मार्ग प्रयोग गरी निर्माण कार्यलाई सहयोग गरिदिन सडक डिभिजन कार्यालयले आग्रह गरेको छ।


