बैशाख १९ , चितवन ।यही बैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस चितवनका असन्तुष्ट समुहहरु सम्हालीन थालेका छन् । काङ्ग्रेसले महानगर प्रमुखको उम्मेदवारीमा टिकट पाउनु पर्ने माग गर्दै आएको काङ्ग्रेस चितवन गठवन्धनको निर्णय पछि असन्तुष्ट वनेको थियो ।
अघिल्लो स्थानिय तहको निर्वाचन २०७४ मा माओवादीलाई काङ्ग्रेसले सहयोग गरेको र अहिले काङ्ग्रेसलाई सहयोग गर्नुपर्ने भन्दै असन्तुष्ट वनेका काङ्ग्रेसी नेता कार्यकर्ता केन्द्रले तालमेल गरे संगै सम्हालीन लागेका हुन । उम्मेदवार तय नहुँदै काङ्ग्रेस चितवनले आफ्नो निर्णय गरेको भए पनि अहिले काङ्ग्रेस चितवन गठवन्धनबाट प्रमुखको उम्मेदवार बन्नु भएकी रेनु दाहाललाई बिजयी वनाउन कम्मर कसेर लागेको छ । उम्मेदवारको टुङ्गो नलाग्दा सम्म सहयोग गर्न नसक्ने बताउनु भएका जिल्ला सभापति राजेश्वर खनाल अहिले खुल्ला मञ्चहरुमा गठवन्धनलाई मतदान गर्न अपिल गर्दै आउनु भएको छ । असन्तुष्ट पक्ष फकाउन र गठवन्धनलाई बिजयी गराउन उहाँले जिल्ला नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिदैं आउनु भएको छ ।
उहाँले एमाले नेतृत्वको सरकारले गरेको प्रतिगमन र संबिधानको रक्षाका लागि अहिलेको गठवन्धन बनेको बताउनुभयो । उहाँले भन्नुभयो “केपि ओली सरकारको प्रतिगमनको बिरुद्ध, संबिधान र लोकतन्त्रको रक्षाका लागि अहिलेको गठवन्धनलाई निर्वाचित गराउनु आबश्यक छ ।”नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य टेक प्रसाद गुरुङ गठवन्धनका उम्मेदवारलाई बिजयी गराउन लाग्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो “टिकट बितरणमा दबाब दिएको हो । पार्टीले निर्णय गरे पछि त्यसको पछि हिड्नु पर्ने हुन्छ ।” पार्टी छोड्न नसकीने भन्दै उहाँले थप्नुभयो “अहिले मिलाउँदै छन् । मिल्छ ।” ५०÷५२ वर्ष भयो राजनितिमा लागेको अब छोड्न सकिदैन । पार्टीले निर्णय गरे पछि त्यसैलाई जिताउन लाग्नु पर्ने उहाँको भनाई थियो ।
टिकट बितरण अघि चोक चोकमा गठवन्धनको बिरुद्धमा भाषण गर्ने नेताहरु समेत गठवन्धनको लाइनमा आई सकेका छन् । भरतपुर महानगर संगै सत्ता गठवन्धनले जिल्लाका सातै पालिकामा तालमेल गरेको छ । जस अनुसार चार पालिकामा प्रमुख काङ्ग्रेसका रहेका छन् भरतपुर महानगरपालिका सहित दुई पालिकामा माओवादी केन्द्र र एक पालिकामा नेपाल कम्युनिष्ट पार्टी (समाजबादी)को नेतृत्वमा निर्वाचन हुँदै छ । नेपाली काङ्ग्रेसका नेता जगन्नाथ पौडेलको प्रमुख पदमा उम्मेदवारी रहेको छ । उहाँ संगसंगै रहेका धेरै नेता कार्यकर्ता पार्टीको निर्णय अनुसारको गठवन्धनका उम्मेदवारको पक्षमा फर्कि सकेका छन् । जिल्लाका पुराना नेताहरु क्रमशः गठवन्धन बलियो हुँदै जाने बताउँछन् । उनीहरु प्रमुखमा काङ्ग्रेसले पाउनु पर्छ भन्ने मागमा रहे पनि एमालेले जित्नु पर्छ भन्ने पक्षमा नरहेकाले गठवन्धन तर्फ फर्कन थालेका हुन । सकेसम्म प्रमुख आफ्नो पक्षमा पार्न दबाब दिएका काङ्ग्रेसका नेता कार्यकर्ता गठवन्धनको उम्मेदवार जिताउने प्रचार अभियानमा सहभागी हुन थालेका हुन ।


