बैशाख २२ , भरतपुर ।सत्ता गठबन्धन दलले आज भरतपुरमा गर्ने भनिएको चुनावी सभास्थल जलमग्न भएको छ । रातभरको भीषण वर्षाले कार्यक्रमस्थल भरतपुरको केन्द्रीय बस टर्मिनल जलमग्न भएको हो । वर्षाले कार्यक्रमका लागि तयार पारेको मञ्च पनि डुबानमा परेको छ ।
नेपाली कांग्रेस चितवनका उपसभापति राजिव न्यौपानेले पानी फालेर कार्यक्रम सोही स्थानमा नै गरिने बताए । ‘म कार्यक्रमस्थलमा नै छु । जेनेरेटर लगाएर भए पनि पानी फाल्ने तयारीमा छौं, उनले भने, ‘कार्यक्रम यहि हुन्छ । सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता बुधबार साँझ नै भरतपुर आइसकेका छन् ।
सभालाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका महामन्त्री गगनकुमार थापालगायतले सम्बोधन गर्ने कार्यक्रम छ । सत्ता गठबन्धनले भरतपुरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसबाट चित्रसेन अधिकारीलाई उठाएको छ ।



