काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि आवेदन खुला भएको छ।
वैदेशिक रोजगार विभागले जारी गरेको सूचनाअनुसार गम्भीर अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि १ हजार ४६४ जना नेपाली कामदार माग गरिएको छ। मागमध्ये १ हजार १३२ जना महिला र ३३२ जना पुरुष छन्।
आवेदन दिन इच्छुक नेपाली नागरिकको उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। इच्छुकले आज राति १२ बजेदेखि असोज २६ गते राति ११ः५९ बजेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
आवेदन वैदेशिक रोजगार विभागको वेबसाइटमार्फत दिन सकिनेछ।
छनोट भएका कामदारले मासिक ६ हजार ४४३ इजरायली मुद्रा तलब पाउनेछन्। इजरायली सरकारको नियमअनुसार ओभरटाइम सुविधा पनि उपलब्ध हुने विभागले जनाएको छ।
कामदारले सातामा ४२ घण्टा अनिवार्य काम गर्नुपर्नेछ भने हप्तामा एक दिन बिदा पाउनेछन्। वार्षिक बिदा भने इजरायली सरकारको कानुनअनुसार हुने सूचनामा उल्लेख छ।


