रसुवा । बाढीले पुल बगाएपछि अवरुद्ध रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के र तुइन निर्माण गरी पैदल आवागमन सञ्चालनमा ल्याइएको छ।
फलाखु खोलाको पक्की पुल तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथिको पुल बाढीले बगाएपछि सडक सम्पर्क अवरुद्ध भएको थियो। तत्कालका लागि पैदल यात्रुलाई आवागमन सहज बनाउन वैकल्पिक संरचना निर्माण गरिएको सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले जानकारी दिए।
बेत्रावतीमा बाँस तथा काठ प्रयोग गरी फड्के निर्माण गरिएको छ। फड्के निर्माणसँगै नुवाकोटतर्फबाट गेर्खु, छापटार, केराघारी हुँदै बेत्रावतीसम्म पैदल आवागमन सहज भएको प्रदेशसभा सदस्य इन्द्रप्रसाद गोतामेले बताए।
फड्के निर्माणमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोग रहेको समाजसेवी गणेश श्रेष्ठले जानकारी दिए।
यसैगरी, स्याफ्रुबेँसीमा फलामे तुइन निर्माण गरिएको छ। सुरक्षा निकायको समन्वयमा तयार गरिएको तुइन निर्माण सम्पन्न भए पनि दायाँबायाँको पदमार्ग व्यवस्थित गर्ने काम भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले बताए। उक्त काम पूरा भएपछि एक–दुई दिनभित्र तुइन पूर्ण रूपमा सञ्चालनमा आउने जनाइएको छ।
स्याफ्रुबेँसीमा तुइन बनेपछि उत्तरी रसुवाका गतलाङ, गोल्जुङ, चिलिमे, थुमन, स्यो, ग्रेलगायत क्षेत्रका बासिन्दालाई आवतजावतमा राहत पुगेको छ। त्यस्तै, बेत्रावतीको फड्केबाट लहरेपौवा, जीवजीवे, धैबुङ, भोर्ले, राम्चेलगायत क्षेत्रका स्थानीयलाई आवागमन सहज भएको छ।
स्थानीयवासीले भने फड्के र तुइनले तत्कालको समस्या समाधान गरे पनि दीर्घकालीन रूपमा बेलिब्रिज निर्माण गर्न माग गरेका छन्। बाढीले क्षति पुर्याएका सडक तथा पुलको पुनर्निर्माणलाई तीव्रता दिँदै छिटोभन्दा छिटो बेलिब्रिज निर्माण गर्न उनीहरूले आग्रह गरेका छन्।


