स्ताङ । हिमाली जिल्ला मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदैछ। दुई दिनसम्म सञ्चालन हुने सम्मेलनको उद्घाटन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गर्ने कार्यक्रम रहेको छ।
सम्मेलनमा सहभागी हुन देशभरका ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधिसहित दुई हजारभन्दा बढी अतिथि सोमबार साँझ नै मुस्ताङ आइपुगेका छन्।
सातै प्रदेशका महानगर, उपमहानगर, नगरपालिका तथा गाउँपालिकाका जनप्रतिनिधि र अतिथिका लागि स्थानीय होटलहरूमा बसोबासको व्यवस्था मिलाइएको घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिए।
सम्मेलनलाई व्यवस्थित र भव्य बनाउन गाउँपालिकाका पाँचवटै वडाका गाउँ समाज, आमा समूह, युवा क्लब तथा स्थानीय सङ्घसंस्थालाई परिचालन गरिएको छ। गाउँपालिका उपाध्यक्ष जमुना थकालीका अनुसार सहभागीका लागि बिहानको खाजा र दिउँसोको खाना सम्मेलनस्थलमै आमा समूहले व्यवस्थापन गर्नेछ भने बेलुकीको खाना र बसाइका लागि तोकिएका होटलमा व्यवस्था गरिएको छ।
सम्मेलनको अवसरमा मुस्ताङका सडक तथा बस्तीलाई स्थानीय कला, संस्कृति र ध्वजापतङ्गाले सजाइएको छ। मुख्य तथा भित्री सडकमा सडकबत्ती जडान गरी झिलिमिली पारिनुका साथै स्वास्थ्य सेवा, खानेपानी, इन्टरनेट, विद्युत्, सवारी पार्किङ र ट्राफिक व्यवस्थापनलाई समेत चुस्त बनाइएको छ।
जोमसोमस्थित कभर्डहलमा हुने सम्मेलनस्थलमा जलवायु परिवर्तनका असरबारे जनचेतना फैलाउने उद्देश्यले २८ फिट अग्लो ‘रोइरहेको पृथ्वी’को बेलुन आकृति राखिएको छ।
त्यस्तै, मुस्ताङका स्थानीय कृषि उत्पादनको प्रचारप्रसार तथा प्रवर्द्धनका लागि ५० भन्दा बढी स्टल राखिएको कृषि शाखा अधिकृत रोशन थकालीले बताए।
जलवायु परिवर्तनका असर, त्यसबाट उत्पन्न चुनौती तथा समाधानका उपायमा छलफल हुने सम्मेलन विशेष घोषणापत्र जारी गर्दै सम्पन्न हुनेछ।


