यस वर्ष पाठ्यपुस्तक ७७ वटै जिल्लामा पुगिसकेको छ ।
शैक्षिक सत्र सुरु हुनुअघि सबै स्थानीय बिक्रेतासम्म पाठ्यपुस्तक पुगेको यो पहिलो पटक हो । शैक्षिक सत्र सुरु नहुँदै विद्यालय तहका पाठ्यपुस्तक सबै जिल्लामा पुगेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ ।
शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुँदैछ । वैशाख १ देखि शैक्षिक सत्र सुरु भए पनि नियमित पढाइ भने वैशाख दोस्रो साताबाट मात्रै सुरु हुने छ । विद्यालय पुगेपछि विद्यार्थीले भर्ना भएकै दिन पुस्तक पाउने छन् ।
कुनै जिल्लामा छिटपुट रूपमा पुस्तक अपुग भएमा एक/दुई दिनमै पुर्याइने केन्द्रले जाएको छ । जनक शिक्षाले पनि सरकारको पर्याप्त सहयोगका कारण यो कार्य सम्भव भएको भन्दै अर्को वर्ष अझै सहज हुने विश्वास व्यक्त गरेको छ । यसबाट विद्यार्थी तथा अभिभावक खुसी छन् ।
आफ्नो नौ वटा प्रादेशिक कार्यालय र डिपोमार्फत एक हजार २६७ वटा स्थानीय बिक्रेताकहाँ पुस्तक पुगिसकेको केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले बताउनुभयो । उहाँका अनुसार स्थानीय बिक्रेतामार्फत सम्बन्धित विद्यालयले पाठ्यपुस्तक लैजाने छन् ।
आउँदो शैक्षिक सत्रका लागि जनक शिक्षाले एक करोड ७५ लाख थान पाठ्यपुस्तक छापेको छ । केन्द्रलाई कक्षा पाँचदेखि १२ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मेवारी दिइएको छ । सरकारी स्वामित्वको यो संस्थालाई गत वर्ष भने कक्षा ६ देखि १२ सम्मको मात्रै पुस्तक छाप्ने अनुमति दिएको थियो ।
तर त्यतिखेर समयमै पुस्तक छापेर शैक्षिक सत्र सुरु हुनेबित्तिकै विद्यार्थीका हातहातमा पुर्याउन सफल भएपछि आगामी वर्षका लागि कक्षा ५ देखिकै पाठ्यपुस्तक छपाइको जिम्मेवारी दिएको हो । यस पटक पुस्तक छाप्ने मेसिन खरिद र जनशक्ति बढाइएका कारण समयमै पुस्तक जिल्लामा पुग्न सकेको प्रबन्ध सञ्चालक झाले बताउनुभयो । सरकारी इच्छाशक्ति, पूर्वयोजना, स्रोत साधन, जनशक्ति र व्यवस्थापनको प्रभावकारी तालमेलले सकारात्मक परिणाम आएको उहाँले बताउनुभयो । कक्षा १ देखि १० सम्म विद्यार्थीलाई यी पाठ्यपुस्तक निःशुल्क वितरण गरिन्छ ।
जनक शिक्षाको पुस्तक विद्यालयसम्म पुर्याउन प्रत्येक जिल्लामा न्यूनतम पाँच/छ वटा बिक्रेता छनोट गरिएको छ । ती बिक्रेतालाई पुस्तक खरिद गर्दा ९ प्रतिशत छुट दिइन्छ । पुस्तक ढुवानीबापत छुट्टै रकम पनि दिइन्छ ।
सरकारले कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मेवारी भने नौ वटा निजी मुद्रण संस्थालाई दिएको छ । तिनीहरूले पनि पुस्तक छपाइ तथा वितरणलाई तीव्रता दिइरहेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालका अनुसार कक्षा १ देखि ४ सम्मका विद्यार्थीका लागि ८४ लाख थान पाठ्यपुस्तक आवश्यक पर्छ । यी पुस्तक सम्बन्धित जिल्लामा पुगिसकेको केन्द्रले बताएको छ ।


