त्रिवेणी । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ स्थित देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
आज बिहान कोटगाउँबाट सानीभेरी गाउँपालिका–९ सिम्ली हुँदै खलङ्गातर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको जिप देउता खोलामा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा जिप चालक र एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। मृतक दुवैको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
जिपमा ११ जना सवार रहेकोमा चार जना गम्भीर घाइते भएका छन्। अन्य पाँच जना घाइतेको अवस्था मध्यम रहेको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिए।
घटनालगत्तै प्रहरी टोली घटनास्थल पुगेको छ। प्रहरी नायब उपरीक्षक पौडेलको नेतृत्वमा अर्को टोली पनि घटनास्थलतर्फ गएको छ।
गम्भीर घाइतेको उद्धारका लागि सानीभेरी गाउँपालिकाले खर्च बेहोर्ने गरी नेपाली सेनाको हेलिकप्टर माग गरिएको गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टले जानकारी दिए।


