काठमाडौं । हिन्दु धर्मावलम्बी महिलाले विशेष श्रद्धाका साथ मनाउने हरितालिका तीज पर्व आज भाद्र शुक्ल तृतीयाका दिन मनाइँदै छ। यस अवसरमा शिव–पार्वतीको पूजा आराधना गर्दै व्रत बस्ने तथा परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्ने गरिन्छ।
धार्मिक कथनअनुसार हिमालयकी पुत्री पार्वतीले महादेवलाई पति रूपमा प्राप्त गर्न कठोर तपस्या गरेकी थिइन्। पार्वतीको इच्छाविपरीत उनका पिता हिमालयले विष्णुसँग विवाह गरिदिन खोजेपछि उनका साथीहरूले उनलाई हरण गरी एकान्त स्थानमा लगेका थिए। त्यहीँ पार्वतीले निराहार व्रत बसेर महादेवलाई पति रूपमा प्राप्त गरेको पौराणिक विश्वास छ।
साथीहरूले पार्वतीलाई हरण गरी लुकाएको दिन भाद्र शुक्ल तृतीया भएकाले यही दिनलाई ‘हरितालिका’ तीजका रूपमा मनाउन थालिएको धर्मशास्त्रीय मान्यता छ। संस्कृतका ‘हरित’ र ‘आलिका’ शब्दबाट ‘हरितालिका’ बनेको मानिन्छ, जसमा ‘हरित’को अर्थ हरण गरिएको र ‘आलिका’को अर्थ साथी भन्ने हुन्छ।
तीजको व्रत निराहार, जलाहार र फलाहार गरी तीन प्रकारले बस्ने प्रचलन छ। आफ्नो स्वास्थ्य र शारीरिक क्षमताअनुसार व्रत बस्न सकिने धर्मशास्त्रविद्हरू बताउँछन्। सबैले अनिवार्य रूपमा निराहार व्रत बस्नुपर्ने धार्मिक नियम नरहेको उनीहरूको भनाइ छ।
परम्परागत रूपमा महिलाले परिवारको सुख, शान्ति तथा कल्याणको कामनासहित तीजको व्रत बस्ने गरेका छन्। विभिन्न कारणले महिला व्रत बस्न नसक्ने अवस्थामा पुरुषले समेत व्रत बस्ने प्रचलन रहेको बताइन्छ।
धर्मशास्त्रमा तीजको व्रतलाई नित्य र काम्य दुवै प्रकारको मानिएको छ। यस व्रतको उद्देश्य व्यक्तिगत मनोकामना पूरा गर्नुका साथै परिवारको सुख, शान्ति र समग्र कल्याणको कामना गर्नु रहेको धर्मशास्त्रविद्हरूको भनाइ छ।
धार्मिक मान्यतामा तीज हिन्दु महिलामा मात्र सीमित नभई मानव कल्याणसँग जोडिएको पर्वका रूपमा समेत व्याख्या गरिएको पाइन्छ। यस दिन शिव–पार्वतीको पूजा, उपासना र व्रत गरी पारिवारिक सुख तथा शान्तिको कामना गर्ने गरिन्छ।


