काठमाडौं । नेपाल पत्रकार महासंघले समाचार कक्षबाटै पत्रकारहरूलाई पक्राउ गर्ने कार्यप्रति कडा आपत्ति जनाउँदै यस्तो गतिविधि तत्काल बन्द गर्न सरकारसँग जोडदार माग गरेको छ।
समाचारको विषयलाई लिएर विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिइएका घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रहार गरेको महासंघको ठहर छ।
नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले समाचार कक्षबाटै पत्रकारलाई नियन्त्रणमा लिने कार्यलाई ‘राज्य आतंक’को संज्ञा दिएका छन्। बर्दीधारी तथा सादा पोसाकका प्रहरी सिधै समाचार कक्षमा प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिनु नेपालको संविधान, पूर्ण प्रेस स्वतन्त्रता र अन्तर्राष्ट्रिय कानुनको समेत खुलेआम उल्लङ्घन भएको उनले बताएका छन्।
राज्यको यस्तो शैली तत्काल नरोकिए यसविरुद्ध कडा आन्दोलनमा उत्रनुको विकल्प नरहने चेतावनीसमेत महासचिव दाहालले दिएका छन्।
शुक्रबार प्रहरीले नयाँ बानेश्वरस्थित ‘नेपाल प्रेस’को कार्यालयको समाचार कक्षबाटै पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ। त्यस्तै, अपराध अनुसन्धान कार्यालय टेकुबाट सादा पोसाकमा खटिएका पाँच जना प्रहरीको टोली ‘नयाँ पत्रिका दैनिक’को कार्यालयमा पुगेर संवाददाता नवराज मैनालीलाई साइबर ब्यूरोमा लैजानुपर्ने भन्दै दबाब दिएको नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तले जानकारी दिएका छन्।
यसैगरी, शुक्रबार नै ‘मोटिभेट न्युज’का पत्रकार शोभराज बराललाई पनि प्रहरीले दिउँसो नियन्त्रणमा लिएको छ।
एकैदिन विभिन्न सञ्चारगृहमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने तथा दबाब दिने घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर चासो व्यक्त गर्दै प्रेस स्वतन्त्रताको सम्मान गर्न र पत्रकारमाथिको धरपकड तत्काल रोक्न सरकारसँग माग गरेको छ।


