जेठ ४ , गोरखा । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको गृहनगर गोरखाको पालुङटारमा माओवादीका उम्मेदवार विजयी भएका छन्। जसपा–एमाले गठबन्धन र कांग्रेसलाई हराउँदै पालुङटारको मेयरमा माओवादीका विवश चिन्तन विजयी भएका हुन्।चिन्तनले ६,०७२ मत पाए भने प्रतिस्पर्धी जनता समाजवादीका प्रेमबहादुर गुरुङले ५,७१७ मत ल्याए।
यस्तै, उपमेयरमा पनि माओवादी केन्द्रकी वन्दना पाण्डे निर्वाचित भएकी छन्। उनले ५,५७९ मत ल्याइन् भने प्रतिस्पर्धी नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठले ५,०७७ मत पाएकी छन्।
माओवादीले जसपा र एमालेबीच तालमेलका बीच पालुङटार हात पारेको हो । काँग्रेससँगको तालमेल भाँडिएपछि पालुङटारमा जसपाले मेयर र एमालेले उपमेयर लिने गरी तालमेल भएको थियो । जसपासँगको तालमेल भत्काउन काँग्रेस लागि पनि घातक भएको छ । २०७४ मा काँग्रेसले जितेको प्रमुख पद माओवादीले खोसेको छ । माओवादीले प्रमुख जितेर उपप्रमुख पनि जोगाउन सफल भएको छ ।


